काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फको मतगणना सकिएको छ। सङ्खुवासभाको अन्तिम मतपरिणाम सोमबार सार्वजनिक भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ।
अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ९ सिटसहित तेस्रो स्थानमा पुगेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ सिट जितेको छ। श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिटमा विजय हासिल गरेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन एक सिटमा निर्वाचित भएका छन्।
प्रदेशगत रूपमा हेर्दा रास्वपाले कोशी प्रदेशबाट २८ मध्ये १७ सिट, मधेस प्रदेशबाट ३२ मध्ये ३० सिट, बाग्मतीबाट ३३ मध्ये ३१ सिट, गण्डकीबाट १८ मध्ये १५ सिट, लुम्बिनीबाट २४ मध्ये २१ सिट, कर्णालीबाट १२ मध्ये १ सिट र सुदूरपश्चिमबाट १६ मध्ये १० सिट जितेको छ।
नेपाली कांग्रेसले कोशीमा ४ सिट, मधेस र बाग्मतीमा १-१ सिट, गण्डकी र लुम्बिनीमा २र२ सिट, कर्णालीमा ५ सिट र सुदूरपश्चिममा ३ सिट जितेको छ।
नेकपा (एमाले) ले कोशीमा ४ सिट, सुदूरपश्चिममा ३ सिट तथा लुम्बिनी र कर्णालीमा १-१ सिट जितेको छ। मधेस, बाग्मती र गण्डकी प्रदेशमा भने एमालेले सिट जित्न सकेन।
नेपाल कम्युनिस्ट पार्टीले मधेस र बाग्मतीमा १र१ सिट, लुम्बिनीमा २ सिट र कर्णालीमा २ सिट जितेको छ।
२०७९ को निर्वाचनमा ५७ सिट जितेको नेपाली कांग्रेसले यसपटक ३९ सिट गुमाएको छ भने ४३ सिट जितेको एमालेले ३४ सिट गुमाएको छ। यसअघि ७ सिट जितेको रास्वपाले भने यसपटक ११८ सिट थप्दै १२५ सिट पुर्याएको छ।
प्रत्यक्षतर्फको नतिजाले रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पार्टी पाँचौँ र राप्रपा छैटौँ दल बन्ने देखिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो। समानुपातिकतर्फको अन्तिम नतिजा भने आउन बाँकी छ।

