काठमाडौँ । एमाले कास्की इन्चार्ज कृष्ण थापा निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका छन् । एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार बैठकमा ढलेका उनलाई मणिपाल मेडिकल कलेजमा लगिएको थियो ।
तर उनलाई डाक्टरहरुले निधनको घोषणा गरेका छन् । निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए । उनले बैठकमा चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए ।
महानगर अध्यक्ष आचार्यका अनुसार १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनी एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेश सभाका पूर्व सभासद् तथा पोखराका पुर्व मेयर समेत हुन् ।

