काठमाडौँ । बालेन शाहको नेतृत्वमा बन्न लागेको राष्ट्रिय स्वतन्त पार्टीको मन्त्रिमण्डल १८ सदस्यीय हुने भएको छ । निर्वाचनका क्रममा रास्वपाको बाचापत्र अनुसार नै मन्त्रीको संख्या घटाएर १८ सदस्यीय बनाउने तयारी भएको हो ।
जसका लागि बिहीबार साँझ रास्वपाका सभापति रवि लामिछाने, बरिष्ठ उपाध्यक्ष बालेन शाह र दुई उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालबीच छलफल भएको थियो ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १३ गते नयाँ सरकार बन्दै भन्दै सोही अनुसार रास्वपाले संवैधानिक निकायहरूमा पत्राचार गरिसकेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको शपथलगत्तै सबै मन्त्रीको शपथ गराउने तयारी छ ।
बालेनको नेतृत्वमा १८ सदस्यीय मन्त्रिपरिषद् बैठक गठनको प्रयास भइरहेको जानकारी बुर्लाकोटीले बताए । ‘मन्त्रालयको संख्या कसरी घटाउने गर्ने भन्ने गृहकार्य गरिराखेका छौँ। हाम्रो वाचापत्रमा १८ वटा मन्त्रालय कुरा उल्लेख छ। त्यही १८ को सेरोफेरोमा कसरी मिलाउने भन्नेमा आन्तरिक कामहरू गरिराखेका छौँ’, उनले भने।
हाल कायम २२ मन्त्रालयलाई घटाएर बढीमा १८ वटा बनाउने रास्वपाको तयारी छ । हाल प्रधानमन्त्री, गृह, अर्थ, परराष्ट्र, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, खानेपानी र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छन्।
यस्तै सहरी विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद गरी २२ मन्त्रालय छन्।
२२ मन्त्रालयलाई १८ झार्दा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको महामन्त्री बुर्लाकोटीले बताए ।
उनका अनुसार मन्त्रालयको संख्या घटाउने तयारी गरिरहेको रास्वपाले राज्यमन्त्री नियुक्त गर्ने छैन।
पुस १३ गते भएको राजनीतिक सहमतिकै आधारमा संसदीय दलको नेतामा बालेन चयन हुने उनको भनाइ छ। बुर्लाकोटीका अनुसार चैत १२ गते सांसदहरूको शपथपछि रास्वपा संसदीय दलको बैठक बस्ने छ।

