काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। कानुनी प्रावधानअनुसार प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय मान्यता पाउने व्यवस्था छ।
यस मापदण्ड पूरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले राष्ट्रिय दलको मान्यता पाएका हुन्।
राष्ट्रिय मान्यता प्राप्त दलहरूले सरकारबाट विभिन्न सेवा–सुविधा पाउने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ले गरेको छ। तर, यही ऐनमा रहेको प्रावधानका कारण दुई दल भने प्रमुख सचेतकको सुविधा पाउनबाट वञ्चित भएका छन्।
ऐनको दफा २ (ञ) अनुसार प्रतिनिधि सभामा कम्तीमा १० जना सदस्य भएको दलले मात्र प्रमुख सचेतक तोक्न पाउने व्यवस्था छ। तर श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले उक्त संख्या पुर्याउन सकेका छैनन्।
निर्वाचन परिणामअनुसार श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद मात्र निर्वाचित भएका छन्। यसका कारण उनीहरूले कानुनी मापदण्ड नपुग्दा प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन्।

