काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी अन्तिम चरणमा पुगेको छ। सोही अनुसार राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो। रास्वपाले चैत १३ गते शपथ कार्यक्रमका लागि राष्ट्रपति कार्यालयलाई औपचारिक पत्रसमेत पठाइसकेको छ।
प्रारम्भमा रास्वपाले शपथ ग्रहण कार्यक्रम शीतल निवास बाहिर आयोजना गर्ने योजना बनाएको भए पनि राष्ट्रपति रामचन्द्र पौडेल त्यसमा सहमत नभएपछि शपथ कार्यक्रम शीतल निवासभित्रै हुने भएको हो।
राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमै हुने स्पष्ट पारेका छन्। उनले भने, “शपथ ग्रहण राष्ट्रपति कार्यालयमै हुन्छ। राष्ट्रपति बाहिर गएर शपथ खुवाउने चलन हुँदैन।”
राष्ट्रपति कार्यालयका एक कर्मचारीका अनुसार शीतल निवास परिसरमै आवश्यक संरचना तयार पारिनेछ। “यहाँ पर्याप्त स्थान छ, पाल टाँगेर वा चौरमा मञ्च बनाएर पनि शपथ कार्यक्रम गर्न सकिन्छ। अहिले सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ,” ती कर्मचारीले जानकारी दिए।
यसअघि भदौ २४ गते भएको आगजनीका कारण राष्ट्रपति कार्यालयको केही भाग क्षतिग्रस्त भएको थियो। सोही कारण शपथ कार्यक्रम बाहिर गर्ने विषयमा रास्वपाभित्र छलफल भए पनि अन्ततः शीतल निवासमै गर्ने निर्णय भएको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि शपथ कार्यक्रम शीतल निवासमै हुने पुष्टि गरेका छन्।

