काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै मोदीले बालेनको नियुक्ति नेपाली जनताले उनको नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको बताएका छन्।
मोदीले सन्देशमा लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो।” उनले बालेनको कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।
साथै, भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने संकेत दिएका छन्। “भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन तपाईंंसँग नजिकबाट काम गर्न म उत्सुक छु,” उनले उल्लेख गरेका छन्।

