काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालय टिम बनाएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ र पदभार ग्रहण लगतै उनले आफ्नो सचिवालय टिम बनाएका हुन् ।
जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार पनि हुन्।
काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले साथ दिएका थिए। उनी निरन्तर सल्लाहकार बनेर सघाउँदै आएका छन्। उनमा हरेक रणनीति बनाउन कौसल रहेको निकटस्थहरू बताउँछन्।
यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। असिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गराउन भूमिका खेलेका थिए।
यसैगरी, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन्। सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।
सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्। बाँकी सल्लाहकार केही दिनमै नियुक्त गर्ने प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिमले बताए।
यसैगरी, प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। परियार केही दिनदेखि शाहको लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए। शाह काठमाडौँ महानगरको मेयर हुँदा केही समय प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ।
प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका छन्। यसअघि शपथ ग्रहण पनि वैदिक विधि अनुसार गरेका थिए। शपथमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति(शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले मङ्गल पाठ गरेका थिए।

