काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे आज निर्णय गर्ने भएको छ। सभामुख निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। एमाले सांसद ऐन महरका अनुसार, विपक्षी दलका तर्फबाट उम्मेदवारी आएमा एमालेले त्यसलाई समर्थन गर्ने, तर विपक्षीबाट उम्मेदवार नआएमा एमाले आफैंले उम्मेदवारी दर्ता गर्ने तयारीमा छ।
उनले भने, “विपक्षीबाट उम्मेदवार आए समर्थन गर्छौं, नभए एमालेले नै उम्मेदवारी दिन्छ। एक बजे बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गर्छ।”यदि एमाले आफैं उम्मेदवारी दिने निर्णयमा पुगेमा पार्टी उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख पदबारे हालसम्म कुनै ठोस छलफल नभएको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले उम्मेदवारीबारे निर्णय नभएको प्रतिक्रिया दिएका छन्।
उता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउँदै मनोनयन दर्ता गरिसकेको छ। संसद्को वर्तमान अंकगणितअनुसार विपक्षी दलहरू एकजुट भए पनि अर्यालको जित सुनिश्चितजस्तै देखिएको छ।

