काठमाडौं । बुधबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो दिन सामान्य गिरावट आएको बजार आज भने बलियो रूपमा उक्लिँदै २८ सय अंक नाघेको हो।
आज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा पुगेको छ, जुन बन्द हुँदाको मात्रै नभई कारोबार अवधिभरकै उच्च स्तर हो।
कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बजारमा २५१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनी घटेका छन् भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै समूहका सूचक सकारात्मक देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३.८७ प्रतिशतले बढ्दा, हाइड्रोपावर २.६१ प्रतिशत र होटल तथा पर्यटन समूह २.५६ प्रतिशतले उकालो लागेको छ। बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, व्यापार ०.६१ र अन्य समूह ०.१५ प्रतिशतले बढेका छन्।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले १० प्रतिशतसम्म लाभ कमाएका छन्।
यस्तै, सान्भी इनर्जी ९.२२ प्रतिशत र बन्दीपुर केबुलकार ८.१८ प्रतिशतले बढेका छन्। अर्कोतर्फ स्वेत गंगा हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरका शेयर मूल्यमा गिरावट आएको छ।
कारोबारका आधारमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।

