काठमाडौँ । पटक पटक विवादमा तानिएका श्रममन्त्री दीपककुमार साहलाई हटाउने विकल्पमा सिंहदरबारमा चर्चा सुरु भएको छ । प्रधानमन्त्रीले वालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई हटाउने अन्तिम तयारी गरेका छन् ।
सरकारमा मन्त्रीलाई पठाउँदा नै जुनसुकै बेला हटाउन सक्ने भन्दै पठाएको सरकारले छोटो समयमै उनको विकल्पमा सोच्न थालेको हो । साह १३ चैतमा मन्त्रीमा नियुक्त भएका थिए ।
धनुषाबाट निर्वाचित उनी लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेर आएका हुन् । डा. स्वर्णिम वाग्लेनिकट उनलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको थियो । छोटो अवधिमा केही लोकप्रिय काम गर्न खोजे पनि अन्तत: प्रधानमन्त्री शाहले श्रम मन्त्रालयमा अर्को व्यक्ति ल्याउने सोच बनाएको उनको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । तर, निर्णय भने भइसकेको छैन ।
शाहनिकट अर्का एक सांसदका अनुसार श्रम मन्त्रालयमा उनलाई प्रस्ताव गरिएको थियो । तर, उनले अन्य केही व्यक्तिको नाम दिएका छन् । ‘सम्भवतः आजै (बिहीबार) नयाँ श्रममन्त्री ल्याउने तयारी बुझेको छु,’ उनले भने, ‘अमरेशकुमार सिंहले लिन अनिच्छा गरेको र हाल प्रधानमन्त्री मातहत रहेको उद्योग मन्त्रालयमा पनि सँगै मन्त्री नियुक्ति गर्ने तयारी शाहले गरेका हुन् ।’
रास्वपा स्रोतका अनुसार शाहले आफ्नो पक्षबाट श्रममन्त्री राख्ने बुझिएको छ भने उद्योगमा पार्टी सभापति रवि लामिछानेलाई नाम दिन भनेका छन् । शाहको पक्षबाट श्रममन्त्रीमा चार जनाको नाम चर्चामा छ । जसमा धनुषा ४ का राजकिशोर महतो, रौतहट ३ बाट प्रभु शाहलाई हराएका रवीन्द्र पटेल, सप्तरी ४ का सीताराम शाह रहेका छन् । त्यसो त समानुपातिक निर्वाचित खगेन्द्र कर्णको नाम पनि श्रममन्त्रीको रूपमा चर्चामा आएको बुझिएको छ । पेसाले इन्जिनियर सप्तरीका कर्ण नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए ।

