काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेशी तोकिएको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने तय भएको हो। १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले वारेसमार्फत रिट दायर गरेका हुन्।
चैत २५ गते वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको रिटमा पार्टीको आधिकारिकता विवाद टुंगो नलागेसम्म १५औँ महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ।
रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिका बीच विशेष महाधिवेशनमार्फत चयन गरिएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको निर्णयमाथि प्रश्न उठाइएको छ। उक्त निर्णय कांग्रेसको विधानविपरीत भएको दाबी रिटमा गरिएको छ।
यसअघि नै पार्टीको आधिकारिकता सम्बन्धी विवादबारे सर्वोच्च अदालतमा अर्को रिट विचाराधीन अवस्थामा रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गरिएको छ।
यो मुद्दाले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप जटिल बनाउने देखिएको छ भने सर्वोच्च अदालतको निर्णयले आगामी महाधिवेशनको कार्यतालिकामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

