काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सरस्वती लामा प्रतिस्पर्धामा छन्। २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत रहेको सन्दर्भमा ठाकुरको जित लगभग सुनिश्चित देखिएको छ। रास्वपाको निर्णायक समर्थनले उपसभामुख निर्वाचनको परिणाम स्पष्ट हुने आकलन गरिएको छ।
आजै हुने निर्वाचनबाट प्रतिनिधि सभाले नयाँ उपसभामुख पाउनेछ।

