काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा बागमतीबाट प्रत्यक्ष निर्वाचित सांसदहरू सहभागी भएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल विकास निर्माणका कार्य तथा समसामयिक विषयहरूमा केन्द्रित रहेको थियो। बैठकका क्रममा सांसदहरूले आफ्नो–आफ्नो निर्वाचन क्षेत्रका समस्या, आवश्यक पूर्वाधार तथा प्राथमिकतामा राख्नुपर्ने योजनाबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए।
सांसदहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा आफ्ना क्षेत्रका योजनाहरू समावेश गर्न आग्रह गरेका छन्। उनीहरूले सडक, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत संरचना विकासका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री शाहले यसअघि कोसी, मधेस, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्। केन्द्र सरकारले प्रदेशगत आवश्यकता बुझ्दै बजेट तथा विकास योजनालाई प्राथमिकतामा राख्ने रणनीतिअनुसार निरन्तर संवादलाई अघि बढाएको जनाइएको छ।

