२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु:...

संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु: आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु: आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

बिहिवार, बैशाख ३ २०८३१०:३७
बिहिवार, बैशाख ३ २०८३१०:३७
  • images

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापति चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । शुक्रबार हुने निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता गरिँदैछ ।

    सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, आज अपराह्न १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ ।

    संसदीय समितिहरूलाई ‘मिनी संसद्’का रूपमा समेत लिइने भएकाले सभापति चयनलाई महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ । समितिका सदस्यहरू यसअघि नै मनोनीत भइसकेकाले तीमध्येबाट सभापति चयन गरिनेछ ।

    संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेकाले मतदानको अवस्था आएमा अधिकांश समितिको सभापति रास्वपाले जित्ने आकलन गरिएको छ । रास्वपा नेताहरूका अनुसार पार्टीले १२ मध्ये ११ वटा समितिको सभापति आफैँ राख्ने तयारी गरेको छ भने लेखा समिति विपक्षीलाई दिने सम्भावना रहेको छ ।

    उता विपक्षी दलहरू भने साझा धारणा बनाउन आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमालेका सांसद तथा उपाध्यक्ष गुरु बरालले विपक्षी तीन दलबीच बैठक बस्ने जानकारी दिँदै कुन–कुन समितिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफलपछि टुङ्गो लाग्ने बताए ।

    नेपाली कांग्रेसका सांसद भीष्म आङदाम्बेले पनि विपक्षीको साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको उल्लेख गर्दै आज दिउँसो हुने बैठकपछि उम्मेदवारीबारे निर्णय हुने बताए ।

    यता रास्वपाले पनि सभापति चयनबारे रणनीति तय गर्न आजै संसदीय दलको बैठक बोलाएको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समितिको नेतृत्व कसरी बाँडफाँट गर्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।

    प्रतिनिधिसभा अन्तर्गत १२ वटा (दुई संयुक्तसहित) संसदीय समितिका सभापति चयन हुन लागेका छन् । यस प्रक्रियाले आगामी दिनमा संसद्को कामकारबाही र शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend