२०८३, आश्विन १९ गते

images
  • समाचार
  • द्वन्द्वको झट्का भान्सामा : तेल–तरकारीदेखि ग्याससम्म...

द्वन्द्वको झट्का भान्सामा : तेल–तरकारीदेखि ग्याससम्म महँगी चुलियो, उपभोक्ता मारमा

द्वन्द्वको झट्का भान्सामा : तेल–तरकारीदेखि ग्याससम्म महँगी चुलियो, उपभोक्ता मारमा

आइतवार, बैशाख ६ २०८३११:४१
आइतवार, बैशाख ६ २०८३११:४१
  • images

    काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्व, अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धि र इन्धनको मूल्य उकालो लागेसँगै यसको प्रत्यक्ष असर नेपाली जनताको भान्सामा देखिन थालेको छ। ढुवानी खर्च बढ्नु र सार्वजनिक यातायात भाडादर वृद्धि हुनुका कारण दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारण उपभोक्ता महँगीको चर्को मारमा परेका छन्।

    विशेषगरी खाना पकाउने ग्यास, खाने तेल, तरकारी, फलफूल र खाद्यान्नको मूल्यमा पछिल्लो ६ महिनामा उल्लेख्य वृद्धि देखिएको छ। सहरी क्षेत्रमा बसोबास गर्ने परिवारहरूमा यसको प्रभाव झन् गहिरो देखिएको छ, जहाँ दैनिक खर्च धान्नै कठिन हुन थालेको छ।

    nepal_market_price_bar_graph_clean.png
    undefined

    ६ महिनाको बजार चित्र : नियन्त्रण बाहिर जाँदै मूल्य

    नेपाल खुद्रा व्यापार सङ्घ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ मङ्सिरदेखि २०८३ वैशाख १ सम्मको अवधिमा बजार मूल्यमा अस्वाभाविक उतारचढाव देखिएको छ। खाद्यान्न, तेल र तरकारीको मूल्य निरन्तर उकालो लाग्दा बजार नियन्त्रण बाहिर जाने संकेत देखिएको छ।

    चामल स्थिर, बासमतीमा वृद्धि

    नेपालीको मुख्य खाद्यान्न चामलतर्फ जिरा मसिनो (९५ रुपैयाँ), सोना मन्सुली (७५ रुपैयाँ) र त्रिशूली (१२० रुपैयाँ_ चामलको मूल्य स्थिर देखिएको छ। तर, लङ्ग्रेन बासमती चामलको मूल्य भने बढ्दै गएको छ। मङ्सिरमा १७० रुपैयाँ रहेको बासमती चामल वैशाखसम्म आइपुग्दा १८० रुपैयाँ पुगेको छ।

    दाल–गेडागुडी : केहीमा राहत, केहीमा भार

    दाल तथा गेडागुडीको मूल्यमा मिश्रित प्रभाव देखिएको छ। चनाको दाल १७० रुपैयाँबाट घटेर १५० रुपैयाँ पुगेको छ भने सेतो केराउ १४० बाट घटेर १३५ रुपैयाँमा झरेको छ। तर, मुंग दाल र मुंग खोस्टामा प्रति किलो २० रुपैयाँसम्म वृद्धि भएको छ भने राजमा २५० रुपैयाँबाट बढेर २६० रुपैयाँ पुगेको छ। सानो चना माघमा बढे पनि पुनः घटेर १३० रुपैयाँमा स्थिर देखिएको छ।

    खाने तेलमा सबैभन्दा ठूलो दबाब

    पछिल्लो ६ महिनामा सबैभन्दा धेरै मूल्य वृद्धि खाने तेलमा देखिएको छ। काँचो तोरीको तेल ३६० रुपैयाँबाट बढेर ३७५ रुपैयाँ पुगेको छ भने भुटेको तोरीको तेल २० रुपैयाँले बढेको छ। सनफ्लावर तेल २५० रुपैयाँबाट बढेर २९५ रुपैयाँ पुगेको छ, जसले प्रति लिटर ४५ रुपैयाँ वृद्धि देखाएको छ। भटमास तेलमा पनि समान रूपमा ४५ रुपैयाँ वृद्धि भएको छ।

    व्यापारीहरूका अनुसार पश्चिम एसियामा जारी द्वन्द्व, डलरको मूल्यवृद्धि र ढुवानी मार्गमा आएको अवरोधले खाने तेलको मूल्यमा सीधा असर पारेको हो।

    तरकारी र फलफूल: २००% भन्दा बढी उछाल

    कालीमाटी बजारको विश्लेषण अनुसार केही तरकारीको मूल्य ४ गुणासम्मले बढेको छ। स्कूस १२ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ (३५८% वृद्धि)। चमसूर साग २५ बाट ९५ रुपैयाँ पुगेको छ (२८०% वृद्धि)। पालुङ्गो, फर्सी र हरियो सागपातमा २००५ भन्दा बढी वृद्धि देखिएको छ। फलफूलतर्फ कागती ९० रुपैयाँबाट बढेर २९६ रुपैयाँ पुगेको छ। केरा २००% ले महँगिएको छ भने आभोकाडो २७५ रुपैयाँबाट बढेर ७०० रुपैयाँ पुगेको छ। हरियो खुर्सानी, सिमी लगायतका तरकारीमा पनि १००% भन्दा बढी वृद्धि भएको छ।

    बजारमा मनपरी मूल्य, उपभोक्ता ठगिँदै

    खुद्रा व्यापार सङ्घले तोकेको मूल्य सूची सीमित पसलमा मात्र लागू हुने र खुला बजारमा व्यापारीहरूले ढुवानी खर्चको बहाना बनाउँदै मनपरी मूल्य राख्दा उपभोक्ता ठगिने क्रम बढेको छ। स्थिर आय भएका तथा न्यून आय वर्गका परिवारलाई दैनिक गुजारा गर्न कठिन हुँदै गएको छ। महँगीका कारण जीवनस्तर कष्टकर बन्दै गएको गुनासो बढ्दो छ।

    उपभोक्ताहरूले सरकारको बजार अनुगमन कमजोर भएको र कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको गुनासो गरेका छन्। इन्धन मूल्य वृद्धि र अन्तर्राष्ट्रिय कारण देखाएर बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा ठोस नीति नआएको उनीहरूको भनाइ छ।

    पश्चिम एसियाको द्वन्द्व अब केवल अन्तर्राष्ट्रिय विषयमा सीमित छैन,यसको प्रत्यक्ष प्रभाव नेपाली जनताको भान्सासम्म पुगेको छ। तेलदेखि तरकारीसम्मको मूल्य आकासिँदा उपभोक्ताको दैनिक जीवन कष्टकर बन्दै गएको छ। समयमै प्रभावकारी हस्तक्षेप नभए महँगी अझ चर्किने स्पष्ट संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend