काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास बुढानिलकण्ठ पुगेको पाइएको छ ।
पछिल्लो केही दिन यता गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने दबाब बढेन थालेपछि उनी पार्टी सभापति भेट्न निवासमै पुगेका हुन् । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी देखिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब बढ्दो छ ।
भट्टसँग सम्बन्धित ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको हो। अनुसन्धानको दायरामा रहेको कम्पनीमा स्वयं गृहमन्त्रीकै लगानी देखिएपछि निष्पक्ष अनुसन्धान प्रभावित हुने भन्दै सत्तारूढ दल रास्वपाभित्रैबाट उनको राजीनामाको माग उठ्न थालेको छ।
दबाब तीव्र बन्दै गएपछि गृहमन्त्री गुरुङ बेलुकी ८ बजेपछि लामिछाने निवास पुगेका थिए। सुरक्षास्रोतका अनुसार उनी करिब राति १० बजेको हाराहारीमा त्यहाँबाट बाहिरिएका थिए। भेटका क्रममा लामिछानेका परिवार सदस्य तथा पार्टीका अन्य सहकर्मी भने उपस्थित थिएनन्।
रास्वपा स्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र सभापति लामिछानेबीच टेलिफोन संवाद गराउँदै आफ्नो पद जोगाउने प्रयास गरेका थिए। तर, लामिछानेले सोमबार बस्ने पार्टी बैठकमा नै विषय उठाएर औपचारिक छलफल गर्न सकिने संकेत दिएका छन्।
गृहमन्त्री गुरुङमाथि बढ्दो राजनीतिक दबाब र संवेदनशील अनुसन्धानसँग जोडिएको स्वार्थको विषयले आगामी दिनमा सरकार र सत्तारूढ दलभित्र थप राजनीतिक हलचल ल्याउने देखिएको छ।

