काठमाडौँ । काठमाडौँ । पछिल्लो समय आफ्नो नाम जोडेर उठाइएका सेयर विवादबारे गृहमन्त्रीले विस्तृत स्पष्टीकरण दिएका छन्। सार्वजनिक रूपमा विभिन्न आरोप र टिप्पणीहरू आइरहेका बेला उनले तथ्यलाई सरल रूपमा प्रस्तुत गर्न आवश्यक ठानेको बताएका छन्।
गृहमन्त्रीका अनुसार “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप भ्रामक रहेको छ। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरहरूअन्तर्गत २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरेको दाबी गरेका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र पर्ने भएकाले यो लुकाउने नभई वर्गीकरणको विषय मात्र भएको उनको भनाइ छ।
उनले मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई लिएर उठाइएका प्रश्नप्रति प्रतिक्रिया दिँदै सेयरमा लगानी गर्नु कुनै अपराध नभएको स्पष्ट पारे। सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसाको स्रोत, स्थानान्तरण र प्रयोग सबै कागजी प्रमाण र बैंक रेकर्डबाट पुष्टि हुने बताएका छन्।
स्रोतका विषयमा उनले आफूले लगानी गरेको रकम ऋणमार्फत जुटाएको जानकारी दिएका छन्। २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार लिइएको उक्त ऋण बैंकिङ च्यानलमार्फत आएको र सोही रकम लगानीमा प्रयोग गरिएको उनले उल्लेख गरेका छन्।
विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। सो कम्पनीमा अन्य विभिन्न संस्था, बैंक तथा मिडिया हाउसको समेत लगानी रहेको उल्लेख गर्दै उनले चयन गरेर आरोप लगाउनु न्यायोचित नभएको बताए।
‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ सम्बन्धी आरोपप्रति प्रतिक्रिया दिँदै गृहमन्त्रीले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग रहेको र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको बताए। आफूबाट कुनै हस्तक्षेप नभएको दाबी गर्दै उनले प्रक्रिया अघि बढिरहेको नै यसको प्रमाण भएको उल्लेख गरे।
व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने भन्दै उनले पछिल्लो घटनालाई आधार बनाएर अघिल्लो निर्णयलाई दोष दिनु उचित नहुने धारणा व्यक्त गरे। साथै संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिनु नै उपयुक्त हुने उल्लेख गर्दै सत्य प्रमाणका आधारमा मात्रै स्थापित हुने बताएका छन्।
गृहमन्त्रीले अन्त्यमा पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन्। “आरोप र सत्य एउटै होइनन्, निर्णय प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने।

