काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले ३ वटा निर्णय गरेको छ ।
यस्ता छन् क्याबिनेट निर्णय:
१) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
२) अर्थ मन्त्रालय
बैठकले भन्सार नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ।
३) गृह मन्त्रालय
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ।

