काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले संसदीय दलको अनौपचारिक बैठकमा सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्।
बैठकमा लामिछानेले सरकार सञ्चालनको शैली, जनसेवा, संगठन निर्माण र समसामयिक राजनीतिक मुद्दामा स्पष्ट मार्गदर्शन गर्दै सांसदहरूलाई जिम्मेवार, संयमित र परिणाममुखी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।
उनले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया आवश्यक रहेको औँल्याउँदै मन्त्रालयगत समन्वयलाई संस्थागत बनाउने बताएका छन्। साथै “सत्ता फेरिएपछि अब सार्वजनिक सेवाको संस्कार पनि बदलिनुपर्छ” भन्दै सेवा–मुखी शासन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
लामिछानेले पार्टीको मूल दर्शन स्पष्ट पार्दै “रास्वपा मालिक बन्नेहरूको होइन, सेवक र सहजकर्ताहरूको पार्टी हो” भन्ने सन्देश दिएका छन्।
त्यस्तै, ‘हेल्लो सरकार’ प्रणालीलाई अझ प्रभावकारी बनाउँदै नागरिकका गुनासोको ट्र्याकिङ गर्न सकिने व्यवस्था विकास भइरहेको जानकारी पनि उनले दिए।
सांसदहरूको भूमिकाबारे स्पष्ट गर्दै उनले कानुन निर्माणलाई प्रमुख प्राथमिकता दिन, तर व्यक्तिगत रूपमा कानूनभन्दा माथि उठ्ने प्रवृत्तिबाट टाढा रहन निर्देशन दिए।
सामाजिक विषयमा उनले अन्तरजातीय विवाहका नाममा भइरहेका विभेद र दुर्घटना रोक्न पहल गर्न आग्रह गर्दै घटनास्थलमा भावुक भएर मर्यादा भंग नगर्न सचेत गराए।
अन्तर्राष्ट्रिय सन्दर्भमा खाडी क्षेत्रको द्वन्द्वले बजार मूल्यमा पारेको प्रभावबारे सरकार जानकार रहेको र आवश्यक कदम चालिरहेको उनले बताए।
संगठन सुदृढीकरणमा जोड दिँदै सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरिएको छ।
सुकुम्बासी व्यवस्थापनबारे उनले जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिँदै आएको र यसका लागि विशेष आयोग गठन गरी दीर्घकालीन समाधान खोजिने बताए। साथै “कसैलाई घरबारविहीन बनाइने छैन” भन्ने प्रतिबद्धता दोहोर्याए।
अध्यादेशबारे प्रष्ट पार्दै उनले विगतका गलत नियुक्ति र दलियकरण सुधार गर्न यस्तो कदम आवश्यक भएको उल्लेख गरे। “यो कसैलाई लक्षित नभई सुधारका लागि कानुनी अभ्यास हो,” उनले भने।
संवैधानिक निकायहरूमा रिक्त पदका कारण निर्णय प्रक्रियामा समस्या भइरहेको भन्दै उनले सक्रियता र “नम्र राजनीतिक आक्रामकता” आवश्यक रहेको धारणा राखे।
अन्त्यमा उनले सांसदहरूलाई नियमित छलफलमा सहभागी हुन, समस्या भए लिखित रूपमा राख्न र संगठनमा योगदानका आधारमा मात्र अवसरको अपेक्षा गर्न आग्रह गरेका छन्।

