काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्र सुकुम्बासी समस्या समाधान भइसकेको दाबी गरेका छन्। २५७०औँ बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी व्यवस्थित प्रयोगमा ल्याइएको बताएका हुन्।
मेयर महर्जनका अनुसार महानगरभित्रका नदी किनार क्षेत्रमा रहेका खाली सार्वजनिक जग्गामा पार्क निर्माण गरिसकिएको छ, जसले अतिक्रमण रोक्न महत्वपूर्ण भूमिका खेलेको छ। “ललितपुरमा सुकुम्बासी समस्या अब छैन, नदी किनारका क्षेत्रहरूलाई सौन्दर्यीकरण गर्दै ‘बुद्ध पार्क’ बनाइएको छ,” उनले भने।
उनले अन्य महानगर तथा नगरपालिकालाई पनि नदी किनारमा बुद्धका मूर्तिसहितका आकर्षक पार्क निर्माण गरी सार्वजनिक जग्गाको संरक्षण गर्न सुझाव दिए। “यो मोडेल छिमेकी सहरहरूका लागि पनि प्रभावकारी विकल्प हुन सक्छ,” उनले उल्लेख गरे।
सम्पदा संरक्षणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै महर्जनले ललितपुरका विहार, बही, चैत्य तथा मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भइसकेको जानकारी दिए। उनले पूर्वमेयर स्वर्गीय बुद्धराज बज्राचार्यको योगदानको प्रशंसा गर्दै पुनर्निर्माणमा सहयोग पुर्याउने भारत र जापान सरकारप्रति आभार व्यक्त गरे।
महानगरले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको संरक्षणका लागि पनि विशेष पहल गरेको उनले बताए। बुद्ध जयन्ती समारोह समिति र प्रत्येक चार वर्षमा आयोजना हुने ‘महासम्यक’ पर्वका लागि अक्षय कोष स्थापना गरी आर्थिक स्थायित्व सुनिश्चित गरिएको जानकारी उनले दिए।
दुई कार्यकालको सीमाका कारण यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै मेयर महर्जनले बाँकी रहेका सम्पदा संरक्षणका काम छिट्टै सम्पन्न गर्न सरोकारवालासँग सहकार्यको आह्वान गरे। साथै, यदि कुनै सम्पदा पुनरुत्थानका काम बाँकी रहे जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

