२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सम्पत्ति शुद्धीकरण विभागको छापा प्रकरणमा मुख्यमन्त्री...

सम्पत्ति शुद्धीकरण विभागको छापा प्रकरणमा मुख्यमन्त्री बानियाँको स्पष्टीकरण: ‘कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्छु’

सम्पत्ति शुद्धीकरण विभागको छापा प्रकरणमा मुख्यमन्त्री बानियाँको स्पष्टीकरण: ‘कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्छु’

सोमवार, बैशाख २१ २०८३०५:०२
सोमवार, बैशाख २१ २०८३०५:०२
  • images

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको छापामारीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कानुनी दायराभित्र रहेर हुने सबै अनुसन्धानमा पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्।

    मुख्यमन्त्री बानियाँले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हेटौँडा र काठमाडौँस्थित आफ्ना घर तथा विगतमा संलग्न रहेको निर्माण सेवा कम्पनीको कार्यालयमा विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

    उनले आफू प्रदेश सरकारको नेतृत्वमा रहँदा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। साथै, सार्वजनिक खर्च कटौती, आर्थिक अनुशासन र पारदर्शितालाई नीतिगत रूपमा अघि बढाइएको दाबी गरेका छन्।

    प्रेस विज्ञप्तिमा उनले संघीय संरचनाअनुसार तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै केन्द्र सरकारका सकारात्मक प्रयासमा प्रदेश सरकारको नेतृत्वले सधैं साथ दिने बताएका छन्।

    यद्यपि, सञ्चारमाध्यममा आएका समाचारका आधारमा गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर परेको महसुस भएको उनको भनाइ छ। “कानुनी प्रक्रियाअनुसार हुने अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ,” उनले स्पष्ट पारे।

    मुख्यमन्त्री बानियाँले बागमती प्रदेशवासी तथा शुभेच्छुकलाई अनावश्यक चिन्ता नलिन आग्रह गर्दै आफू जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend