काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको चेतावनीप्रति आपत्ति जनाउँदै चुनौति दिएका छन् ।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सोमबार उनले भने, ‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६–६ जना सिफारिस गरियो रु ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन ।’
त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गरेको बताउँदै लामिछानेले थपे, ‘परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’ उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौति पनि दिए । ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार । अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’
मल्लले कानुन दिवसको कार्यक्रममा शनिबार आफूलाई प्रधानन्यायाधीश सिफारिस नगरेकोमा कुण्ठा व्यक्त गर्दै झण्डै दुईतिहाईको सरकारलाई चेतावनी दिएकी थिइन् । सोही अभिव्यक्तिको प्रतिवादमा लामिछानेले आज प्रतिक्रिया दिएका हुन् ।
लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको बताउँदै सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न पार्टीका सांसदहरूलाई सुझाव दिए । ‘कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचनाहरूले हामीलाई सोच्न बाध्य बनाएको पनि हुनसक्छ’, लामिछानेले भने, ‘तर तपाईँहरू के निर्धक्क हुनुहोला भने सरकारले सोचेर,हेरेर र विचार गरेर आफ्ना कदमहरू चालिरहेको छ । त्यसकारण सरकारले गरेका कामहरूमा आजका दिनसम्म दुखमनाउ गरेर भाग्न पर्दैन ।’
उनले अध्यादेशलगायतका विषयमा प्रश्न गर्दा अप्ठेरो परेको हुनसक्ने भएपनि कतिपय अवस्थामा फास्ट ट्रयाकबाट कानुन बनाएर जनतालाई लाभ दिन खोजेको बताए । लामिछानेले देश र नागरिकलाई घाटा हुने र अप्ठ्यारो हुने कुनै पनि निर्णय नगर्ने र गर्न नदिइने समेत दाबी गरे। हिजो ट्रयाकबाहिर रहेको देश अहिले ट्रयाकमा आइरहेको समेत उनले बताए ।
रास्वपालाई विभिन्न राजनीतिक दल कांग्रेस, एमाले र नेकपाले समेत भोट दिएकाले पार्टी यो हैसियतमा पुगेको भन्दै लामिछानेले देश झुक्ने काम रास्वपाले नगर्ने बताए ।
लामिछानेले सांसदलाई आफ्नो क्षेत्रमा बजेट लैजानका लागि दबाब नदिन आग्रह गरे । उनले आफ्ना सांसदलाई सिंगो देश नै एक निर्वाचन क्षेत्र भएकाले आफ्नो क्षेत्रमा लैजान प्रेसर नदिन आग्रह गरे ।
नागरिकसँग गरेको बाचाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै लामिछानेले यस पटकको बजेट त्यति धेरै आशा गर्ने ठाउँमा नभएको बताए। उनले बजेटको सिलिङ तोकिसकेको आशा अनुसार बजेट नआउने जानकारी गराए ।
उनले अर्थमन्त्रीले बजेट लेख्न तयार भएको र प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमबारे आफ्नो छलफल भइरहेको बताए। उनले राज्यको सामर्थ्य बढाउन ५ वर्ष काम गर्ने उल्लेख गरे।

