काठमाडौं । कामना सेवा विकास बैंक ले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ। सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित दुई दिने कार्यशालामा ४० जना दृष्टिविहीन व्यक्तिको सहभागिता रहेको थियो।
दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रणालीसँग प्रत्यक्ष जोड्दै आर्थिक आत्मनिर्भरता र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले बचत, बजेट व्यवस्थापन, आर्थिक अनुशासन, डिजिटल बैंकिङ र सुरक्षित कारोबारका विषयमा प्रशिक्षण दिनुभएको थियो।
तालिममा व्यक्तिगत तथा पारिवारिक बजेट निर्माणको महत्त्व, वित्तीय लक्ष्य निर्धारण, भविष्यका लगानीका सम्भावना, डिजिटल कारोबारका तरिका तथा सम्भावित डिजिटल ठगीबाट बच्ने उपायबारे जानकारी दिइएको थियो। साथै बैंकिङ कारोबारमा आवश्यक पर्ने हस्ताक्षरको व्यावहारिक अभ्याससमेत गराइएको थियो।
बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष रूपमा “स्वाभिमान बचत खाता” सञ्चालनमा ल्याएको जनाएको छ। उक्त खातामार्फत अन्य ग्राहकसरह मोबाइल बैंकिङ तथा एटीएम कार्डको सुविधा उपलब्ध गराइनेछ। दृष्टिविहीन भएकै कारण खाता खोल्न अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ। साथै, खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
कार्यक्रममा सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले बैंकको पहलप्रति खुसी व्यक्त गर्दै यस्तो तालिम दृष्टिविहीन समुदायका लागि अत्यन्त उपयोगी र प्रभावकारी भएको बताउनुभयो। परियोजनासँग आबद्ध सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भए तापनि सुरक्षित रूपमा बैंकिङ सेवा प्रयोग गरिरहेको अनुभव सुनाउँदै यस्ता कार्यक्रमले आत्मविश्वास बढाएको धारणा राख्नुभयो।
कार्यक्रमको समापनमा सीएसआर प्रमुख पौडेलले आगामी दिनमा पनि समावेशी बैंकिङ अभियानलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंकले यस्ता कार्यक्रममार्फत वित्तीय पहुँच विस्तारसँगै सामाजिक समावेशिता र आत्मसम्मान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

