काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री श्रेष्ठको सचिवालयले नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै क्षतिग्रस्त टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न पहल गरिरहेको जनाएको छ ।
प्राधिकरणका अनुसार हावाहुरीका क्रममा रुख ढल्दा १३२ केभी क्षमताका दुई वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । घटनापछि नेपाल विद्युत् प्राधिकरणले ग्रिड अपरेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ ।
प्राधिकरणले दिएको जानकारीअनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो । प्रारम्भिक अध्ययनमा टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।
१३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता न्यून भएकाले प्रदेशभर विद्युत् सेवा प्रभावित भइरहेको प्राधिकरणले जनाएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार आयोजना हो । उक्त लाइन सञ्चालनमा आएपछि कर्णालीमा स्थिर र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको थियो ।

