काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेकसहित भारतसँग रहेका सीमा विवादका विषय कूटनीतिक संवादमार्फत समाधान गर्ने दिशातर्फ नेपाल र भारत दुवै देश उन्मुख रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सीमा समस्याको समाधान वार्ता र कूटनीतिक पहलबाटै खोजिने स्पष्ट पारे ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले लिपुलेकको विषयमा नेपालले पठाएको कूटनीतिक नोटबारे सरकारको धारणा माग गरेका थिए । त्यसको जवाफमा मन्त्री खनालले मानसरोवर यात्रासम्बन्धी विषय सार्वजनिक भएपछि नेपालले आफ्नो दाबी र दाबीको आधारसहित भारतलाई कूटनीतिक नोट पठाएको जानकारी दिए ।
‘हामीले स्वभाविक रूपमा आफ्नो दाबी क्लेमसहित नोट पठायौं । उहाँहरूले पनि आफ्नो क्लेम राख्नुभएको विषय रह्यो । तर, कूटनीतिक पहलद्वारा समाधान गर्ने भन्ने उहाँहरूको पोजिसन आएको छ,’ मन्त्री खनालले भने ।
उनले नेपाल पनि सीमा विवाद समाधानका लागि संवादकै पक्षमा रहेको उल्लेख गर्दै सीमासम्बन्धी विवादहरू कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने नेपालको स्थायी धारणा रहेको बताए ।
मन्त्री खनालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा अहिले पनि प्राविधिक तहमा काम भइरहेको छ । नेपाल र भारतबीच गठन गरिएको बोर्डर वर्किङ ग्रुपअन्तर्गतको टेक्निकल कमिटी सक्रिय रूपमा काम गरिरहेको उनले जानकारी दिए ।
‘नेपाल र भारतको टेक्निकल कमिटीले अहिले पनि काम गरिरहेको छ । लामो सीमा भएकाले विभिन्न क्षेत्र छुट्याउने र स्पष्ट पार्ने काम भइरहेको छ,’ उनले भने ।
उनले मनसुनका कारण सीमा क्षेत्रमा प्राविधिक काम गर्न कठिन हुने भए पनि हिउँदयाम र सुख्खा मौसममा यस्ता काम बढी हुने बताए । लामो समय रोकिएको सीमा सम्बन्धी प्रक्रिया गत वर्षदेखि पुनः सक्रिय भएको पनि उनले उल्लेख गरे ।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच सीमा समस्याका विषयमा लामो समयदेखि छलफल जारी रहेको स्मरण गर्दै अब संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्ने वातावरण बन्दै गएको बताए ।
‘मलाई लाग्छ, लामो समयपछि नेपाल–भारत सीमा विषयहरूमा पनि विस्तारै कूटनीतिक पहल र संवादबाट उठेका समस्याहरू समाधान गर्ने दिशातर्फ उन्मुख भएका छन्,’ उनले भने ।

