काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई वटा संशोधन विधेयक दर्ता गराएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधनका लागि ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र मतदाता नामावलीसम्बन्धी व्यवस्था संशोधनका लागि ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ संसद्मा लगेका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक प्रधानमन्त्रीको हैसियतमा दर्ता गरिएको हो भने मतदाता नामावलीसम्बन्धी विधेयक गृहमन्त्रीको हैसियतमा अघि बढाइएको हो ।
संविधानको धारा ८४ को उपधारा २ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्दा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।
सरकारले २०७८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसंख्याको प्रतिशतका आधारमा समानुपातिक प्रतिनिधित्वको प्रतिशत अद्यावधिक गर्न आवश्यक देखिएकाले संशोधन विधेयक ल्याइएको जनाएको छ ।
त्यस्तै, मतदाता नामावली संशोधन विधेयक यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन ल्याइएको हो । आगामी २१ फागुनको निर्वाचनका लागि छुटेका मतदातालाई नामावलीमा समावेश गर्न सरकारले अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशबाट गरिएका व्यवस्थालाई ऐनमा रूपान्तरण गर्न विधेयक अघि बढाइएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक भने आजै संसद्मा पेस भएको छ ।

