काठमाडौं । कामना सेवा विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा उपचाररत बिरामी तथा उनका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
देशका विभिन्न स्थानबाट उपचारका लागि आएका आर्थिक तथा सामाजिक रूपमा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उपचारका क्रममा कठिन अवस्था भोगिरहेका बिरामी तथा कुरुवाहरूलाई पौष्टिक भोजन आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।
उक्त कार्यक्रम आरती भोजन परिवार सँगको सहकार्यमा सञ्चालन गरिएको थियो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल र आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबु अर्यालको उपस्थिति रहेको थियो ।
भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताएका छन् ।
आरती भोजन परिवारले २०८१ मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आएको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।
कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

