काठमाडौं । महालक्ष्मी विकास बैंक ले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसर पारेर देशभर विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको जनाएको छ। बैंकले जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउँदै वित्तीय साक्षरता, स्वास्थ्य शिविर, रक्तदान, मन्दिर सरसफाइ तथा सांस्कृतिक प्रवर्द्धनलगायतका कार्यक्रम आयोजना गरेको हो।
बैंकका अनुसार वार्षिकोत्सव अन्तर्गत केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयहरूमा कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषण सेवासम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
यस्तै, जेठ ४ गते केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरहरूमा करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ।
बैंकले वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ। विभिन्न प्रदेश तथा शाखा कार्यालयमार्फत आयोजित कार्यक्रममा करिब २०० पिन्ट रगत संकलन गरिएको बैंकले उल्लेख गरेको छ।
यसका साथै बैंकले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न स्थानका महालक्ष्मी मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण गरेको जनाएको छ। ललितपुरस्थित महालक्ष्मी मन्दिर मा बगैंचा प्रवर्द्धन, मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनका लागि समेत सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले स्थानीय संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूलाई स्थानीय भेषभूषासहित कार्यक्रममा सहभागी गराएको थियो। साथै नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समिति लाई खानेपानी व्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
विश्व फोटोग्राफी दिवसको अवसरमा बैंकले हरेक वर्ष आयोजना गर्दै आएको “महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिता” अन्तर्गत संकलित तस्बिरहरू पनि केन्द्रीय कार्यालयमा प्रदर्शनी गरिएको जनाएको छ।
बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको “महालक्ष्मी कर्पोरेट क्रिकेट” प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेठ महिनामा आयोजना गर्ने जनाएको छ।

