काठमाडौं । नेपाल हस्तकला महासङ्घ को आयोजनामा शुक्रबारदेखि राजधानीमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ।
हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनसँगै आन्तरिक र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको महासङ्घले जनाएको छ।
आगामी जेठ १० गतेसम्म आम्रपाली ब्याङ्क्वेट मा सञ्चालन हुने एक्स्पोमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अवधारणाअनुसार हस्तकलासहित नेपाली निकासी सम्भावना भएका विभिन्न सामग्रीका करिब ७० वटा स्टल राखिएका छन्।
स्टलहरूमा परम्परागत तथा आधुनिक नेपाली हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ। एक्स्पोमार्फत स्थानीय हस्तकलाको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा नेपाली कला, संस्कृति र परम्परागत परिकार संरक्षणमा सहयोग पुग्ने विश्वास आयोजकको छ।
मेलाको मुख्य आकर्षणमा हस्तकला प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय उद्योगी–कलाकार तथा कालिगडहरूको सीप प्रदर्शन लगायत रहेका छन्।

