काठमाडौँ । गणतन्त्र दिवसको औपचारिक कार्यक्रमलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । उनले सम्बोधन नगर्ने भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ ।
प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा विशेष समारोह हुने गर्छ । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेको थियो । तर, अहिले प्रधानमन्त्री आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न पत्रमार्फत सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार त्यो पत्रमा ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ,’ भन्ने वाक्यांश लेखिएको छ ।
संविधानको त्यो धारा ६६ को उपधारा (२) मा ‘उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ,’ भन्ने लेखिएको छ ।
संविधानमै त्यस्तो सिफारिस प्रधानमन्त्रीले पेस गर्ने उल्लेख भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रमार्फत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेनकै नेतृत्वमा ‘गणतन्त्र दिवस मूल समारोह समिति बनाएको’ छ । त्यो समितिको बैठकले कसरी कार्यक्रम गर्ने भन्ने विषयमा जिल्ला जिल्लामा र सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ ।

