काठमाडौं । अमेरिकी प्रतिबन्धका बावजुद चिनियाँ प्रविधि कम्पनी हुवावेले उन्नत सेमिकन्डक्टर अर्थात् चिप विकासमा नयाँ रणनीति सार्वजनिक गरेको छ । कम्पनीले सोमबार यसै शरद् ऋतुबाट आफ्नो ‘किरिन’ स्मार्टफोन चिप उत्पादनमा ‘लजिक फोल्डिङ’ नामक नयाँ इन्जिनियरिङ अवधारणा प्रयोग गर्ने जनाएको हो ।
विश्व प्रविधि बजारमा एनभीडिया र एप्पलसँग प्रतिस्पर्धा तीव्र भइरहेका बेला हुवावेको यो घोषणा अर्थपूर्ण मानिएको छ ।अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडियाले चीनमा आफ्ना सबैभन्दा उन्नत एआई चिप बिक्री गर्न पाएको छैन । यसले चीनलाई स्वदेशी प्रविधि विकासतर्फ अझ आक्रामक बनाएको विश्लेषकहरूको भनाइ छ ।
सन् २०२३ मा सार्वजनिक भएको हुवावेको ‘मेट ६०’ स्मार्टफोनले फाइभजी क्षमतायुक्त उन्नत चिप प्रयोग गरेपछि कम्पनीले चीनमा एप्पलबाट बजार हिस्सा फिर्ता लिन सफल भएको थियो । अब कम्पनीले ‘मेट ९०’ सिरिजमा थप उन्नत चिप प्रविधि प्रयोग गर्ने तयारी गरेको छ ।
हुवावेका अनुसार नयाँ चिप आर्किटेक्चरले चिपको लेआउटलाई एक तहबाट दुई तहमा विस्तार गर्नेछ । यसले ऊर्जा दक्षता उल्लेखनीय रूपमा बढाउने कम्पनीको दाबी छ । कम्पनीकी सेमिकन्डक्टर व्यवसाय प्रमुख तथा वैज्ञानिक समिति निर्देशक तिङ्बो हेले यो संरचनाले ट्रान्जिस्टरहरूलाई धेरै बिन्दुमा एकअर्कासँग अन्तरक्रिया गर्न सक्षम बनाउने बताइन् ।
हुवावेले सन् २०३१ सम्ममा आफ्नो नयाँ चिप प्रविधिले १.४ नेनोमिटर प्रोसेस क्षमतासम्म पुग्न सक्ने दाबी गरेको छ । हाल विश्वकै अग्रणी चिप निर्माता TSMC ले २ नेनोमिटर चिपको व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।
नेनोमिटर प्रविधि चिप निर्माणको मापन प्रणाली हो । सामान्यतया सानो नेनोमिटरले छिटो, शक्तिशाली र ऊर्जा बचत गर्ने चिप उत्पादन गर्न मद्दत गर्छ ।
तर हुवावेको दाबीप्रति केही प्रविधि विज्ञहरूले शंका व्यक्त गरेका छन् । डीजीए ग्रुपका प्रविधि प्रमुख पल ट्रिओलोका अनुसार ‘स्ट्याक्ड’ वा ‘फोल्डेड’ डिजाइनले घनत्व बढाउन सक्ने भए पनि यसले ताप नियन्त्रण, ऊर्जा खपत, उत्पादन दर र उपकरणको स्थायित्वजस्ता चुनौती पूर्ण रूपमा समाधान गरिसकेको भन्ने अर्थ नहुने बताए ।
काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान उपाध्यक्ष नील शाहका अनुसार डच कम्पनी ASML बाट उन्नत ‘ईयूभी लिथोग्राफी’ मेसिन खरिद गर्न नपाएपछि हुवावे वैकल्पिक प्रविधिमा जान बाध्य भएको हो ।
उनका अनुसार नयाँ अवधारणाले एआई क्षेत्रमा चीनलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्न सक्छ, तर यसको व्यावसायिक सफलताको वास्तविक परीक्षा एआई डाटा सेन्टरमा प्रयोग भएपछि मात्र स्पष्ट हुनेछ ।
गत साता एनभीडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन" हुवाङले अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँग कुरा गर्दै चिनियाँ बजार हुवावेका लागि ‘छोडिएको’ बताएका थिए ।

