काठमाडौँ । कामना सेवा विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देहीस्थित श्री पशुपति माध्यमिक विद्यालयलाई तीन थान कुलर हस्तान्तरण गरेको छ । बैंकको कोटिहवा शाखामार्फत विद्यालयलाई उक्त सहयोग प्रदान गरिएको हो ।
बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई कुलर हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई गर्मी मौसममा सहज वातावरणमा अध्ययन–अध्यापन गर्न सहयोग पुग्ने उद्देश्यले बैंकले कुलर उपलब्ध गराएको जनाएको छ ।
विद्यालयमा कुलर जडान भएसँगै कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीहरूलाई अनुकूल वातावरणमा अध्ययन गर्न सहज हुने अपेक्षा गरिएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । यस्तै, यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका क्षेत्र प्रमुख आचार्यले व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

