२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, कार्की आयोगमाथि पनि अनुसन्धान हुनुपर्ने

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, कार्की आयोगमाथि पनि अनुसन्धान हुनुपर्ने

बिहिवार, जेठ १४ २०८३०२:२२
बिहिवार, जेठ १४ २०८३०२:२२
  • images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै विगतमा सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो धारणा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको दाबी गरेको छ ।

    कांग्रेसले मानव अधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको भन्दै उक्त प्रतिवेदन निष्पक्ष नरहेको र आमनिर्वाचनअघि सार्वजनिक नगरिनु नियोजित भएको आफ्नो शङ्कालाई बल पुगेको जनाएको छ ।

    विज्ञप्तिमा आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको तर पछि योजनाबद्ध रूपमा हिंसात्मक गतिविधि घुसाइएको आयोगको निष्कर्षलाई उल्लेख गरिएको छ । कांग्रेसले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, हत्या, लुटपाट र अराजक गतिविधिमा संलग्न जोसुकैलाई राजनीतिक संरक्षणविना कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

    कांग्रेसले प्रतिवेदनले राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा अत्यधिक बल प्रयोग भएको उल्लेख गरेको भन्दै दोषी ठहरिएका व्यक्ति वा निकायमाथि संवैधानिक र कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले आयोगका सिफारिस सरकारका लागि बन्धनकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिस कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ ।

    कांग्रेसले सरकारसमक्ष आयोगको प्रतिवेदनबारे आधिकारिक धारणा सार्वजनिक गर्न, हिंसात्मक घटनामा संलग्न सांसद, व्यक्ति वा निकायमाथि निष्पक्ष अनुसन्धान अघि बढाउन, अत्यधिक बल प्रयोगबाट मृत्यु भएका तथा घाइतेका परिवारलाई राहत र पुनर्स्थापना उपलब्ध गराउन तथा निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेको छ ।

    यसका साथै सुरक्षा निकायलाई मानव अधिकारमैत्री र प्रभावकारी बनाउन आवश्यक सुधार गर्न तथा कार्की आयोगमाथि समेत तत्काल अनुसन्धान सुरु गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend