काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका पूर्वगृहमन्त्री सुदन गुरुङ पुनः गृहमन्त्री पदमा फर्किने भएका छन्। सम्पत्तिसम्बन्धी लगायत विभिन्न विवादपछि पदबाट राजीनामा दिएका गुरुङले आज पुनः सपथ ग्रहण गर्ने तयारी भएको स्रोतले जनाएको छ।
यसअघि उनीमाथि उठेका प्रश्न र आरोपहरूको छानबिनका लागि सरकारले विशेष समिति गठन गरेको थियो। समितिले छानबिनपछि गुरुङलाई आरोपबाट मुक्त गर्दै ‘क्लिन चिट’ दिएपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको बताइएको छ।
स्रोतका अनुसार गुरुङले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनकै हातमा जाने भएको छ। उनको पुनर्बहालीलाई सरकारभित्रको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।

