काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण संसद्मा जारी गतिरोध अझै अन्त्य हुन सकेको छैन। प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट विरोध जनाउँदै नाराबाजी गरेपछि सदनको कारबाही प्रभावित भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयमा भ्रम सिर्जना गरेको आरोप लगाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याएका छन्।
सदनमा निरन्तर अवरोध जारी रहेपछि सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्न नसकिने अवस्था रहेको भन्दै प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता र विपक्षी दलबीच सहमति जुट्न नसक्दा संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ। विपक्षी दलहरूले आफ्नो माग पूरा नभएसम्म सदन अवरोध जारी राख्ने संकेत गरेका छन्।

