२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ‘दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्,...

‘दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्र होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’

‘दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्र होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिहिवार, जेठ २८ २०८३११:१६
बिहिवार, जेठ २८ २०८३११:१६
  • images

    काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी)  सम्बन्धी कर तथा भन्सार दर निर्धारण प्रक्रियामा सूचना चुहावट गरेको भन्ने आरोपको कडा प्रतिवाद गर्दै आफूले दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाणित गर्न सके राजनीति मात्र नभई सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।

    बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र सार्वजनिक छवि धुमिल्याउने प्रयास भएको आरोप लगाए।

    उनले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवन पारदर्शिता, इमानदारी र नैतिकताको आधारमा अघि बढेको दाबी गर्दै निराधार आरोपका आधारमा चरित्र हत्या गर्न खोजिएको बताए।

    “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। अर्थमन्त्री पद मात्र होइन, राजनीति र सार्वजनिक जीवन नै त्यागिदिन्छु,” वाग्लेले समितिमा भने, “मैले आफ्नो सम्पूर्ण जीवन नैतिकताको उच्च मापदण्डमा बिताएको छु। त्यसैले आधारहीन आरोप लगाएर बदनाम गर्ने प्रयास स्वीकार्य छैन।”

    पछिल्लो समय आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनसँग सम्बन्धित कर तथा भन्सार दर परिवर्तनका विषयमा सूचना चुहावट भएको र त्यसबाट केही व्यवसायी लाभान्वित भएको आरोप सार्वजनिक रूपमा उठ्दै आएको छ। सोही विषयमा स्पष्ट पार्न लेखा समितिले अर्थ मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको थियो।

    छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बजेट निर्माण प्रक्रिया गोप्य र संस्थागत ढंगले सञ्चालन हुने भएकाले व्यक्तिगत रूपमा सूचना चुहावटमा आफ्नो कुनै संलग्नता नरहेको बताए। उनले तथ्य र प्रमाणका आधारमा छानबिन गर्न आफू पूर्ण रूपमा तयार रहेको समेत बताए।

    वाग्लेले आफूविरुद्ध उठाइएका आरोपले व्यक्तिगत रूपमा दुःखी बनाएको उल्लेख गर्दै राजनीतिक प्रतिस्पर्धाको नाममा व्यक्तिको चरित्रमाथि प्रहार गर्ने प्रवृत्ति बढ्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको धारणा राखे।

    “माथि उठ्न नसक्नेहरूले अरूलाई तल तान्ने प्रयास गरेका छन्। तर सत्य अन्ततः स्थापित हुन्छ,” उनले भने।

    उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले उच्च नैतिकता कायम राख्नुपर्नेमा जोड दिँदै आफूले त्यसबाट कहिल्यै विचलित नहुने बताए।

    ईभी करसम्बन्धी विवाद र सूचना चुहावटबारे उठेका प्रश्नका बीच अर्थमन्त्री वाग्लेको यो अभिव्यक्ति राजनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend