काठमाडौं । नेपाल एसबीआई बैंकले असार १ गतेदेखि लागू हुने नयाँ निक्षेप तथा कर्जा ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ।
बैंकका अनुसार तीन वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.१० प्रतिशत ब्याजदर कायम गरिएको छ। त्यस्तै, दुईदेखि तीन वर्षसम्मको निक्षेपमा ३.४० प्रतिशत, एकदेखि दुई वर्षसम्मको निक्षेपमा ३.२० प्रतिशत, छ महिनादेखि एक वर्षसम्मको निक्षेपमा ३ प्रतिशत तथा तीनदेखि छ महिनासम्मको निक्षेपमा २.८२ प्रतिशत ब्याजदर तोकिएको छ।
बचत खातातर्फ विभिन्न योजनाअनुसार २.७५ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ। विदेशी मुद्राको बचत खातामा अमेरिकी डलरमा ३ प्रतिशत तथा युरो र पाउण्ड स्टर्लिङमा ०.५० प्रतिशत ब्याजदर कायम गरिएको छ।
कर्जातर्फ बैंकले घर कर्जाको स्थिर ब्याजदर ८.९९ प्रतिशतबाट सुरु हुने व्यवस्था गरेको छ। पाँच वर्षसम्मका लागि ८.९९ प्रतिशत, पाँचदेखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १०।.९ प्रतिशत ब्याजदर कायम गरिएको छ। शिक्षा कर्जाको ब्याजदर भने ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म तोकिएको छ।
त्यसैगरी, सवारी कर्जा, व्यक्तिगत कर्जा, परियोजना कर्जा तथा व्यवसायिक कर्जाका लागि आधारदर (बेस रेट) मा निश्चित प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ। बैंकको वैशाख २०८३ को आधारदर ५.२५ प्रतिशत रहेको छ भने पछिल्लो तीन महिनाको औसत आधारदर ५.३९ प्रतिशत रहेको उल्लेख गरिएको छ। ब्याज स्प्रेड दर ३.२८ प्रतिशत रहेको बैंकले जनाएको छ।
नेपाल एसबीआई बैंकका अनुसार नयाँ ब्याजदर २०८३ असार १ गते (१५ जुन २०२६) देखि लागू भएको हो।

