२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सत्ताको ‘एक्सप्रेस वे’ मा बालेनको गर्जन...

सत्ताको ‘एक्सप्रेस वे’ मा बालेनको गर्जन : ‘गन्तव्यमा नपुगी हाम्रो गाडीमा ब्रेक लाग्दैन’

सत्ताको ‘एक्सप्रेस वे’ मा बालेनको गर्जन : ‘गन्तव्यमा नपुगी हाम्रो गाडीमा ब्रेक लाग्दैन’

आइतवार, आषाढ ७ २०८३०९:२३
आइतवार, आषाढ ७ २०८३०९:२३
  • images

    सार्वजनिक मञ्चहरूमा कमै मात्र बोल्न रुचाउने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा आफ्नो मौनता तोड्दै सरकारको भावी दिशा प्रस्ट पारेका छन्। जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनबाट अत्यधिक बहुमतसहित सत्ताको कमान्ड सम्हालेका उनले यसलाई केवल पार्टीको आन्तरिक मामिलामा मात्र सीमित राखेनन्, बरु देशको शासकीय शैली, कूटनीति र सुशासनको स्पष्ट र कडा मार्गचित्र प्रस्तुत गरे।

    पुराना दलहरूले नयाँ शक्तिको उदयलाई 'हावाको लहर' भन्दै गिज्याइरहेका बेला प्रधानमन्त्री शाहले त्यसको निकै सटिक र काव्यात्मक जवाफ दिएका छन्। उनले प्राप्त जनमतलाई अस्थायी हावा नभई बाढी आएर सही बाटोमा फर्किएको खोलाको संज्ञा दिए, जुन अब निरन्तर त्यही धारमा बगिरहनेछ। आफू नेतृत्वको सरकारलाई 'एक्सप्रेस वे' मा कुदिरहेको गाडीसँग तुलना गर्दै उनले गन्तव्यमा नपुगी बीच बाटोमा ब्रेक नलाग्ने उद्घोष गरे। यसले उनको सरकार कुनै पनि अवरोधका अगाडि नरोकिने र आफ्नै रफ्तारमा अघि बढ्ने प्रस्ट सन्देश दिएको छ।

    रास्वपाको वैचारिक धरातल र राजनीतिक दर्शनमाथि उठिरहेका प्रश्नहरूलाई चिर्दै बालेनले आफ्नो पार्टीलाई स्पष्ट रूपमा 'विकासवादी' चिन्तनको संवाहक भएको दाबी गरे। नेपालको राजनीतिमा सधैँ एउटै एजेन्डा बेचेर पटक–पटक सत्तामा पुग्ने पुरानो रोगलाई तोड्ने उनको प्रतिबद्धता छ। सुकुम्वासी समस्यादेखि सहकारी ठगीसम्मका जर्जर मुद्दाहरू यही कार्यकालमा टुंग्याउने र अर्को चुनावमा जनतामाझ जाँदा ती पुराना एजेन्डा नभई नयाँ एजेन्डा लिएर जाने अठोटले नागरिकमा नयाँ आशा जगाएको छ।

    विगतका सरकारहरूले जस्तो राजनीतिक प्रतिशोध साँधेर कसैलाई दुःख नदिने तर राज्यको ढुकुटी लुट्नेलाई नछाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता निकै गम्भीर देखिएको छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग वर्षौंसम्म सहकार्य गरेर भए पनि भ्रष्टाचारका पुराना फाइलहरू खोल्ने तर विधिको शासनभन्दा एक इन्च पनि बाहिर नजाने स्पष्ट पारे। सरकारी सम्पत्तिको दोहन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने उनको यो शैलीले सुशासनको बलियो आधार खडा गर्ने संकेत गरेको छ।

    प्रधानमन्त्रीका रूपमा कडा रूपमा प्रस्तुत भएका शाहले रास्वपाको एक वरिष्ठ नेताका रूपमा आफ्नै कार्यकर्तालाई पनि निर्मम चेतावनी दिएका छन्। पुराना पार्टीहरूलाई सिध्याएको गुटबन्दीको रोग रास्वपामा नसरोस् भन्नका लागि उनले बेलैमा सचेत गराए। अहिल्यै गुटको बिउ नरोप्न र रोपेको खण्डमा आफूले बीचबाटै रुख फाँडिदिने कडा सन्देश दिँदै उनले राम्रो राजनीतिज्ञ बन्न समूहको होइन, जनताको माया जित्नुपर्ने यथार्थ औंल्याए।

    कूटनीति र राष्ट्रियताको सवालमा पनि उनको सम्बोधन निकै परिपक्व सुनियो। कालापानी र लिपुलेक नेपालकै भएको अकाट्य प्रमाण बेलायती साम्राज्यकै पालादेखि सुरक्षित रहेको र सोही प्रमाणका आधारमा छिमेकी राष्ट्रसँग सीधै कूटनीतिक संवाद गर्ने उनको दृढता छ। आफ्नो जमिनको दाबी गर्न तेस्रो पक्षलाई मध्यस्थकर्ता नराख्ने तर तथ्य र प्रमाणका आधारमा छिमेकीसँग आँखा जुधाएर कुरा गर्ने उनको अडानले नेपालको परराष्ट्र नीति तथ्यमा आधारित र निडर रहेको सन्देश दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend