काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई क्षेत्रलाई सुदृढ नगरी पर्यटन उद्योगको विस्तार र राष्ट्रको समग्र विकास सम्भव नभएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी संवाद कार्यक्रममा मन्त्री पौडेलले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले पर्यटन र आर्थिक विकासका लागि हवाई उद्योगको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। सरकारले धेरै पर्यटक भित्र्याउने लक्ष्य र योजना बनाए पनि त्यसअनुसार हवाई क्षेत्रको विकास हुन नसकेको उनको भनाइ थियो।
उनले अहिले हवाई सेवा सञ्चालन गरिरहेका कम्पनीहरू विभिन्न समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै क्षेत्र सुधार हुँदै जानुको सट्टा झन् चुनौती बढ्दै गएको महसुस भएको बताए।
‘पर्यटक भित्र्याउने ठूलो आकांक्षा राखेका छौं। त्यसअनुसार नीति र योजना पनि बनाइरहेका छौं। तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो लक्ष्यअनुसारको प्रगति देखिँदैन। निजी हवाई कम्पनीहरूको गुनासो पनि बढिरहेको छ,’ उनले भने।
मन्त्रीले आफूले जिम्मेवारी सम्हालेको करिब तीन महिनाको अवधिमा हवाई क्षेत्र निकै जटिल रहेको अनुभव गरेको बताउँदै समस्या यथास्थितिमा छाड्न नसकिने स्पष्ट पारे।
‘सरकारले चाहेर मात्रै तत्काल सबै समस्या समाधान गर्ने अवस्था पनि छैन। धेरै जटिलता छन्। तर यसलाई यत्तिकै छोड्न मिल्दैन। कुनै न कुनै उपायबाट समाधान निकाल्नैपर्छ,’ उनले भने।
उनले नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रको भविष्य हवाई क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रका समस्या समाधानका लागि नीतिगत तथा संरचनागत सुधारमा सरकार केन्द्रित हुने बताए।
मन्त्रीले नेपाल अझै पनि युरोपेली संघ (ईयू) को हवाई सुरक्षा प्रतिबन्ध (EU Air Safety List) मा रहेकाले त्यसबाट बाहिर निस्कन कानुनी, नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको बताए।
‘ईयूको आकाशमा नेपालमाथि लागेको प्रतिबन्ध हटाउन हामीले कानुनी तथा नीतिगत सुधारसँगै अन्तर्राष्ट्रिय हवाई सुरक्षाका सबै मापदण्ड पूरा गर्दै अघि बढ्नुपर्छ,’ उनले भने।
उनका अनुसार सरकारले हवाई सुरक्षाको स्तर उकास्ने, अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्ने र नियामक प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा काम अघि बढाउने तयारी गरेको छ।

