२०८३, भाद्र १३ गते

images
  • बैंक बित्त
  • दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डीएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डीएसआईकेबीच रणनीतिक साझेदारी

images
बुधवार, आषाढ २४ २०८३११:४२
बुधवार, आषाढ २४ २०८३११:४२
  • काठमाडौं। दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्तीय प्रणालीको विकासलाई गति दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ।

    जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘एसियामा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण’ कार्यक्रमअन्तर्गत उक्त साझेदारी गरिएको बैंकले जनाएको छ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डीएसआईकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्।

    बैंकका अनुसार साझेदारीलाई दुई चरणमा कार्यान्वयन गरिनेछ। यसअन्तर्गत हरित बैंकिङ अभ्यासलाई संस्थागत गर्दै बैंकका सेवा, नीति तथा सञ्चालन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गरिनेछ।

    कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सहकार्य बैंकका लागि दिगो बैंकिङ अभ्यासलाई परिपक्व बनाउने महत्वपूर्ण उपलब्धि भएको बताए। साझेदार संस्थाबाट प्राप्त प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनका आधारमा बैंकले आफ्ना बैंकिङ अभ्यासलाई थप परिष्कृत गर्दै हरित वित्त, न्यून–कार्बन उत्सर्जन र दिगो उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए।

    सम्झौताअनुसार डीएसआईकेले ईएसजी रिस्क राडार (ESG Risk Radar) र सस्टेनेबल फाइनान्स कम्पास (Sustainable Finance Compass) जस्ता विशेष प्राविधिक उपकरण उपलब्ध गराउँदै बैंकलाई प्राविधिक सहयोग प्रदान गर्नेछ। साथै ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (SMEs) को क्षमता अभिवृद्धि र हरित उद्यम विकासका लागि विशेष कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

    कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यस पहललाई प्रभावकारी रूपमा विस्तार गर्ने जनाएको छ। हाल बैंकले २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    बैंकले ग्राहक–केन्द्रित सेवा, सुशासन र पारदर्शी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यो सहकार्यले नेपालको दिगो आर्थिक विकास, हरित वित्तीय प्रणालीको विस्तार तथा जलवायु–उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend