२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निजामती कर्मचारीलाई ११ बुँदे आचारसंहिताः सरकारी...

निजामती कर्मचारीलाई ११ बुँदे आचारसंहिताः सरकारी गोपनीयता चुहाए कारबाही, फेसबुक–टिकटक प्रतिबन्ध

निजामती कर्मचारीलाई ११ बुँदे आचारसंहिताः सरकारी गोपनीयता चुहाए कारबाही, फेसबुक–टिकटक प्रतिबन्ध

बिहिवार, आषाढ २५ २०८३११:२५
बिहिवार, आषाढ २५ २०८३११:२५
  • images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्ना कर्मचारीका लागि नयाँ ‘आचारसंहिता, २०८३’ लागू गरेको छ। मन्त्रालयले कर्मचारीको आचरणलाई थप अनुशासित, पारदर्शी, सेवामुखी र उत्तरदायी बनाउने उद्देश्यसहित ११ बुँदे आचारसंहिता कार्यान्वयनमा ल्याएको हो।

    मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार स्वीकृत उक्त आचारसंहिता कार्यान्वयनका लागि सबै महाशाखा, शाखा तथा मातहतका निकायमा परिपत्र गरिएको छ। मन्त्रालयले आचारसंहिताको पूर्ण पालना गर्न सबै कर्मचारीलाई निर्देशन दिएको छ।

    आचारसंहितामा कर्मचारीले इमान्दारिता, निष्पक्षता, पारदर्शिता र व्यावसायिकता कायम राख्दै सेवाग्राहीलाई छिटो, गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्ने उल्लेख गरिएको छ। साथै कुनै पनि प्रकारको विभेद नगरी सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सामाजिक सञ्जालमा पनि कडा निगरानी

    आचारसंहिताले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी छुट्टै व्यवस्था गरेको छ। कार्यालय समयमा वा सरकारी पोशाकमा कार्यालयसँग सम्बन्धित प्रचारात्मक वा शिक्षामूलकबाहेक अन्य फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ।

    यस्तै फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको गरिमा र व्यावसायिक मर्यादा कायम गर्नुपर्ने, मन्त्रालय वा सरकारका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रम फैलाउने सूचना वा टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ।

    कर्मचारीले सामाजिक सञ्जालमार्फत कुनै पनि निकायका पदाधिकारी वा कर्मचारीको मान–सम्मानमा आँच पुग्ने गरी अभिव्यक्ति दिन नहुने तथा राजनीतिक पूर्वाग्रह झल्किने टिप्पणी गर्न पनि निषेध गरिएको छ।

    उपहार, मदिरा र निजी स्वार्थमा रोक

    आचारसंहिताअनुसार मन्त्रालयको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट सम्बन्धित अधिकारीको स्वीकृतिबिना कुनै प्रकारको उपहार वा आतिथ्य स्वीकार गर्न पाइने छैन।

    त्यस्तै कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधिमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

    कर्मचारीले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी व्यक्तिगत, पारिवारिक वा संस्थागत लाभ लिन नहुने, निजी स्वार्थ जोडिएका विषयमा निर्णय गर्न नहुने तथा सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणको दुरुपयोग गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ।

    सेवाग्राहीमैत्री र उत्तरदायी बन्न निर्देशन

    मन्त्रालयले कर्मचारीलाई तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न, कार्यालय समयमा नियमित उपस्थित हुन, परिचयपत्र अनिवार्य लगाउन, गोपनीय सूचना सुरक्षित राख्न र सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्न निर्देशन दिएको छ।

    प्राकृतिक विपद्, महामारी वा राष्ट्रिय संकटका बेला तोकिएको जिम्मेवारीभन्दा बाहिर पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीले आफ्नो कार्यसम्पादनप्रति जवाफदेही हुनुपर्ने र सेवाप्रवाहमा अनावश्यक ढिलाइ गर्न नहुने पनि आचारसंहिताले स्पष्ट गरेको छ।

    पालना नभए अनुगमन

    मन्त्रालयले आचारसंहिताको कार्यान्वयनको नियमित अनुगमन गरिने जनाएको छ। आचारसंहिताका प्रावधान प्रचलित कानुनसँग बाझिए कानुनअनुसार नै कार्यान्वयन हुने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी ‘सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीको आचारसंहिता, २०६८’ समेत पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend