काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्नु, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ।
भौगोलिक विकटताका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा उपलब्ध गराइएका स्मार्ट टेलिभिजनले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
यस कार्यक्रमअन्तर्गत मानाकोट माध्यमिक विद्यालय (गौमुल–५), जनज्योति माध्यमिक विद्यालय (गौमुल–२), अम्लिश माध्यमिक विद्यालय (गौमुल–१), फूलपाता माध्यमिक विद्यालय (गौमुल–२), किर्तिचौर माध्यमिक विद्यालय (गौमुल–६) र बालविकास माध्यमिक विद्यालय (गौमुल–३) लाभान्वित भएका छन्।
बैंकका अनुसार स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूले डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित सिकाइमा सहज पहुँच पाउनेछन्। यसले दुर्गम क्षेत्रका विद्यार्थीलाई पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री शिक्षा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले स्थानीय तहमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै भावी पुस्तालाई डिजिटल युगअनुकूल ज्ञान र सीप विकास गर्न प्रेरित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।

