काठमाडौँ । सोमबार मुस्लिम धर्मालम्बीहरुको महान पर्व बकर इद (इदुल जोहा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरको कोठा नं ८ मा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सेवाग्राहीको सेवामा व्यस्त देखिन्थिन ।
दिउँसो ३ बजे हामी त्यहाँ पुग्दा प्रजिअ श्रेष्ठ आफ्नो कार्यकक्षमा छाडेर कोठा नं ८ मा सेवाग्राहीको सेवामा व्यस्त थिईन । ‘राससबाट समाचार प्रकाशित भएपछि आज सेवाग्राहीको चाप बढेको छ’, उनले भने, ‘सामान्य दिनमा जस्तै आज सेवाग्राहीको चाप छ ।’
यसअघि सार्वजनिक बिदामा दुई/चार जना सेवाग्राही मात्रै आउँदा कर्मचारी यत्तिकै बस्नुपर्नेमा आज भने एकैदिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको उनको भनाई छ ।
राससले गत जेठ ३२ गते ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । समाचारको प्रभावस्वरुप आज एकैदिन राष्ट्रिय परिचय पत्रको फाराम भरेर फोटो खिच्न एक सय २५ जनाभन्दा बढी सेवाग्राही आएको, राहदानी वितरण, राहदानीको फाराम भर्न र राहदानी दिन तथा नागरिकता लिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको प्रजिअ श्रेष्ठले बताए ।
गृह मन्त्रालयले विसं २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो ।
राष्ट्रिय परिचय पत्रदेखि राहदानीका लागि सेवाग्राही बिहान ७ बजे नै लाइनमा बस्न आउने भएपछि कार्यालयले टोकन प्रणाली लागू गरेको थियो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि कार्यालयले दैनिक एक सय जनाका दरले असार १२ गतेसम्मका लागि टोकन वितरण गरिसकेको छ ।
कार्यालयमा आज प्रजिअ श्रेष्ठ, सहायक प्रजिअ डोरेन्द्र निरौला, प्रशासकीय अधिकृत अशोककुमार पोखरेललगायत १४ जना कर्मचारीले सेवा प्रवाह गरेका थिए । कार्यालयले राष्ट्रिय परिचयपत्रको फाराम भर्दै तस्बिर खिच्न आजसम्म दुई वटा टोली खटाएकोमा भोलिदेखि चार वटा क्यामरा, कम्प्युटरसहितको युनिट खटाइने उनले बताए ।
शनिबार बाहेकका अन्य बिदामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्थ्यो । अब सेवाग्राही आजको जस्तै अन्य बिदामा पनि बढ्ने आशा गरेका छौँ ।’

