काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले सरकारबाट औपचारिक रूपमा बाहिरिने निर्णय गर्दै आफ्ना सबै मन्त्रीको सामूहिक राजीनामा दिएको छ। मन्त्रीहरूले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम पार्टीको निर्णय र विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारमा सहभागी सबै मन्त्रीले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ। पत्रमार्फत राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।
एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको संसदीय दलका नेता थपलियाले जानकारी दिएका छन्। यससँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आएको छ।
सरकारबाट बाहिरिने मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात विषय हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
मन्त्रीहरू मन्त्रिपरिषद् बैठकका लागि गत ३२ असारमा काठमाडौं गएका थिए। पार्टी नेतृत्वको निर्देशनपछि उनीहरू मंगलबार हेटौंडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
कृषि मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टीले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्णय कार्यान्वयन गर्दै मन्त्रीहरूले पद त्याग गरेका हुन्।
बागमती प्रदेशमा २०८१ साउनदेखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालन हुँदै आएको थियो। करिब दुई वर्षपछि एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

