काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन ११ गते बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, हिँडडुल गर्न, सभा, जुलुस, प्रदर्शन तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। आदेश अवज्ञा गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ।
यी पाँच क्षेत्रमा लागू भयो कर्फ्यु
- हरिपुर बजार क्षेत्र
- भुटाहा बजार क्षेत्र
- कप्तानगञ्ज बजार क्षेत्र
- घुस्की बजार क्षेत्र
- देवानगञ्ज बजार क्षेत्र
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न स्थानीयवासीलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।
यसअघि देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शनकारीसहित १८ जना घाइते भएका थिए। सोही घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

