२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सुनसरी घटनामा रास्वपाले माग्यो निष्पक्ष छानबिन,...

सुनसरी घटनामा रास्वपाले माग्यो निष्पक्ष छानबिन, दोषीलाई कारबाही र शान्ति सुरक्षा

सुनसरी घटनामा रास्वपाले माग्यो निष्पक्ष छानबिन, दोषीलाई कारबाही र शान्ति सुरक्षा

मंगलवार, श्रावण १२ २०८३०५:२१
मंगलवार, श्रावण १२ २०८३०५:२१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालमा हालै भएको दुःखद तथा संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न तथा समाजमा शान्ति, सद्भाव र संयमता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

    पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

    रास्वपाले कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र द्वेषबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवाद, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको जनाएको छ। पार्टीले साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा उक्साहट र अफवाहको पछि नलाग्न सबै नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई अपिल गरेको छ।

    विज्ञप्तिमा तत्काल शान्ति–सुरक्षा कायम गर्न, आम नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको उल्लेख गरिएको छ। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडित पक्षलाई न्याय दिलाउन तथा राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

    रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवाद र सहमतिमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

    पार्टीले अन्त्यमा यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति र कार्यकर्तालाई पनि प्रभावित क्षेत्रमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend