काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप आधुनिक र डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (Nimblez) सँग सहकार्य गरेको छ। यससँगै बैंकको मोबाइल बैंकिङ एपमार्फत अब अन्तर्राष्ट्रिय eSIM तथा International Driving Permit (IDP) सम्बन्धी सेवा सहज रूपमा उपलब्ध हुने भएको छ।
सम्झौतापछि ग्राहकहरूले कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय eSIM डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) का लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार विदेश यात्रा गर्ने, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकका लागि यो सेवा विशेष रूपमा उपयोगी हुनेछ।
आजको डिजिटल युगमा विदेश यात्राका क्रममा भरपर्दो इन्टरनेट सेवा र आवश्यक यात्रा कागजातको सहज व्यवस्थापनलाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। eSIM सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्नुपर्ने, सिम परिवर्तन गर्नुपर्ने वा नेटवर्क खोज्नुपर्ने झन्झटबाट मुक्त हुँदै ग्राहकहरूले सहज रूपमा मोबाइल डेटा सेवा प्रयोग गर्न सक्नेछन्।
त्यसैगरी, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकको विश्वास छ। ग्राहकहरूले आवश्यक प्रक्रिया डिजिटल माध्यमबाटै पूरा गर्न सक्ने भएकाले समय र झन्झट दुवै कम हुने अपेक्षा गरिएको छ।
यस सेवाको अर्को विशेषता भनेको eSIM तथा IDP सेवाको शुल्क ग्राहकहरूले कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था हो। यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता हटाउँदै अन्तर्राष्ट्रिय सेवा उपयोगलाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकले जनाएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभरका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्र मार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले प्रविधिमा आधारित आधुनिक सेवालाई प्राथमिकतामा राख्दै ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्दै आएको जनाएको छ।
बैंकका अनुसार यो सहकार्यले ग्रामीण, अर्ध–शहरी र शहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्नुका साथै डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायिक प्रयोजनका लागि आवश्यक सेवालाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराएर ग्राहकको बैंकिङ अनुभवलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य बैंकले लिएको छ।

