२०८३, श्रावण २५ गते

images
  • प्रमुख समाचार
  • दाह्रा काटिएपछि ‘ध्रुर्वे’ निकुञ्जभित्रै, प्रत्येक १०...

दाह्रा काटिएपछि ‘ध्रुर्वे’ निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा निगरानी गर्दै उच्च सतर्कता

दाह्रा काटिएपछि ‘ध्रुर्वे’ निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा निगरानी गर्दै उच्च सतर्कता

images
सोमवार, श्रावण १८ २०८३१२:२५
सोमवार, श्रावण १८ २०८३१२:२५
  • काठमाडौँ । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु¥याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो । 

    सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुर्वेको १०÷१० मिनेटमा अनुगमन गरिएको छ । 

    निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०÷१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भने,  “कुनै पनि समयमा ध्रुर्वे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले ध्रुर्वे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।”

    पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो ।  चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए। हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो । 

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उहाँले बताउनुभयो । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ । 

    हात्तीले विसं २०७४ मा सेनानी लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८÷६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि विसं २०६९ को पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्ज भित्रका हात्तीलाई प्रजनन गराइन्छ । 

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend