काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद पद्मा अर्यालले सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताइन्।
उनले एमाले नेतृत्वको सरकारले पहिलोपटक भूमि नीति तथा भू–उपयोग कानुन निर्माण गरेको स्मरण गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्नुपर्नेमा जोड दिइन्।
‘पहिलोपटक हामीले भूमि नीति बनायौं, भू–उपयोग कानुन बनायौं। अहिले त्यसको कार्यान्वयनतर्फ अघि बढिरहेको छ। यसले भविष्यका लागि महत्वपूर्ण आधार तयार गरेको छ,’ अर्यालले भनिन्, ‘सरकारलाई हामी सहयोग गर्छौं, किनभने हामीले सुकुमवासीको व्यथा बुझेका छौं।’
अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या अलग–अलग ढंगले समाधान गर्न नसकिने उल्लेख गर्दै दुवै वर्गलाई एउटै नीतिगत ढाँचाभित्र समेटेर समाधान खोज्नुपर्ने आवश्यकता औंल्याइन्।
‘सुकुमवासीलाई एकातिर र अव्यवस्थित बसोबासीलाई अर्कोतिर राखेर यो समस्या समाधान हुन सक्दैन। दुवै समस्यालाई एउटै डालोबाट सम्बोधन गर्नुपर्ने अवस्था छ। यसतर्फ सरकारको ध्यान जाओस् भन्ने मेरो आग्रह छ,’ उनले भनिन्।

