२०८३, आश्विन २० गते

images
  • समाचार
  • सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो,...

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

शुक्रवार, श्रावण २२ २०८३०८:००
शुक्रवार, श्रावण २२ २०८३०८:००
  • images

    काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को बोर्डर आउट पोस्ट (बीओपी) मा व्यापक भौतिक क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति भएको छैन।

    प्राप्त जानकारीअनुसार बिहीबार राति १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुंगाहरू आपसमा ठोक्किँदै उछिट्टिएर बीओपी परिसरमा पुगेपछि विभिन्न संरचनामा क्षति पुगेको हो।

    घटनामा बीओपीको पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानामा समेत छ वटा प्वाल परेको छ।

    त्यसैगरी, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरी निरीक्षकको बाथरूमको भित्तामा पनि प्वाल परेको छ।

    पहिरोका कारण राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको जनाइएको छ। साथै, एउटा हिमाली ज्याकेटमा समेत ढुंगाले प्वाल पारेको छ।

    घटनापछि सुरक्षा निकायले क्षतिको विवरण संकलन गर्नुका साथै थप जोखिमको मूल्याङ्कन गरिरहेको जनाएको छ। वर्षायामका कारण पहिरोको जोखिम अझै कायम रहेकाले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend